लक्ष्य होल्डिङ्गस् लि.

बारम्बार सोधिने प्रश्नहरुः

१. होल्डिंग कम्पनीले के काम गर्छ ?
उत्तरः यो होल्डिंग कम्पनीले बिभिन्न माध्यमहरुबाट नयाँ वा परिचालन भैरहेका कम्पनी, उद्यम वा व्यवसायहरु संचालन गर्ने गर्दछ । यसमा बीउ पूँजी लगानी गर्ने, अधिकतम पूँजी ग्रहण गर्ने वा सम्पूर्ण पूँजी राखेर व्यवसाय संचालन गर्न सक्नेछ । यसमा होल्डिंग कम्पनीको पूँजी रकम बाहेक अरु रकम बाह्य शेयरहोल्डरहरुबाट पनि लिन सकिनेछ ।

२. सहायक कम्पनीहरु कसरी बनाइन्छ ?
उत्तरः सहायक कम्पनीहरु बनाउनको लागि होल्डिंग कम्पनीले परियोजनाहरु आव्हान गर्दछ । आएका प्रस्तावहरुबाट विज्ञहरुको समूहले प्रस्तावहरुको मूल्यांकन गर्नेछ । मूल्यांकनबाट आएका सिफारिस अनुसार होल्डिंग कम्पनीले लगानी गर्ने वा नगर्ने वा कति गर्ने भन्ने निर्णय गर्नेछ ।

३. परियोजना प्रस्तावहरु कसरी संकलन गरिन्छ ?
उत्तरः बिभिन्न पत्रपत्रिका, सामाजिक संजालहरुमा प्रस्तावहरु प्रकाशित गरि आव्हान गरिनेछ । पहिलो चरणको प्रस्ताव यसै कम्पनीको वेवसाइटमा तथा “कान्तिपुर” पत्रिकामा प्रकाशित भैसकेको छ । इच्छुक कम्पनी तथा व्यवसायीहरुले प्रस्ताव पेश गर्न सक्नुहुनेछ । प्रस्ताव पेश गर्ने अन्तिम मिति २०७८ फागुन ३० गतेसम्म रहेको छ ।

४. कति चरणमा यो कम्पनी स्थापना गरियो ?
उत्तरः इच्छुक लगानीकर्ताहरुले ३१ डिसेम्बर २०२१ सम्म होल्डिंग कम्पनीको पहिलो चरणमा प्रतिवद्धता रकमको ३० प्रतिशत तथा दोश्रो चरणको बाँकी ७० प्रतिशत रकम २०२२ जनवरी ३१ सम्ममा जम्मा गर्नुभयो । १ फरवरी २०२२ मै कम्पनी विधिवत दर्ता गरियो ।

५. कम्पनी दर्ता भएपछि संस्थापक शेयर लिन पाइन्छ कि पाइन्न ?
उत्तरः कम्पनी दर्ता हुँदा थाहा नपाएका, छुटेका लगानीकर्ताहरुले पनि इच्छाएको १०० प्रतिशत नै रकम जम्मा गरि संस्थापक शेयरहोल्डरको रुपमा सामेल हुन सक्नेछन् ।

६. यो कम्पनीमा कतिजना संस्थापक रहनेछन् ?
उत्तरः तोकिएको मितिसम्म आवेदन दिएका योग्य आवेदकहरुको आवेनमाथि छलफल गरि स्वीकृत भएका आवेदकहरु हालसम्म १,१५७ जना यो कम्पनीका संस्थापक शेयरहोल्डरहरु भैसक्नुभएको छ र नयाँ शेयरहोल्डरहरु थपिने क्रम जारी छ ।

७. सहायक कम्पनीहरु बनाउँदा के के कुराहरु बिचार गरिनेछ ?
उत्तरः हाल प्राइभेट कम्पनी भएतापनि भविष्यमा पब्लिक कम्पनी हुने तथा शेयरको सार्वजनिक निष्काशनमा जान प्रतिबद्धता जनाउने (भविष्यमा कम्तीमा ७ जना संस्थापक र पूँजी न्यूनतम १ करोड राखेर), कम्तीमा १० करोड चुक्ता पुरयाउने सक्ने सोच भएका कम्पनीहरुलाई प्रस्ताव पत्र आव्हान गरिसकिएको छ । यस्ता प्रस्ताव आएका कम्पनीहरुमा यो कम्पनीले लगानी गरेमा तिनै कम्पनीहरु यसका सहायक कम्पनीहरु बन्नेछन् ।

८. कम्पनी दर्तापछिका के कामहरु बाँकी छन् ?
उत्तरः कानूनी प्रकृयाहरु पूरा गरि प्रबन्धपत्र, नियमावलीको बनाई कम्पनी विधिवत् दर्ता भैसकेको छ। अब शेयरहोल्डरहरुको दर्ता किताब कायम गर्दै लगिनेछ र सोही अनुसार कम्पनीको शेयर प्रमाणपत्र दिंदै गइनेछ । कम्पनी दर्ता हुनुअघि तदर्थ समितिले गरेको प्रतिबद्धता अनुसार २०२१ जनवरी ३० सम्म पाकेको ब्याजमा लगानीकर्ताहरुले जम्मा गरेको रकम बैक खातामा रहेको अवधि र लगानी रकमको भारित अनुपातमा ब्याज हिसाब गरि फिर्ता गरिने काम पनि भैरहेको छ ।

९. यो कम्पनीले शेयर बजारमा लगानी गर्छ ?
उत्तरः यो होल्डिंङ्ग कम्पनी आफैंले शेयर बजारमा लगानी गर्दैन तर यसले बनाउने सहायक कम्पनीहरुमध्ये कुनै एउटा कम्पनीले शेयर बजारमा लगानी गर्ने काम गर्नसक्छ ।

१०. यसको कार्यालय कहाँ छ ? यसको बारेमा बुझ्न कसरी, कहाँ र कसलाई भेट्ने वा सम्पर्क गर्ने ?
उत्तरः यो कम्पनीको आधिकारिक कार्यालय मेट्रो पार्क बिल्डिंगको दोश्रो तल्ला, लैनचौर (राजदरबार उत्तरढोका) मा रहेको छ । कम्पनीको नाममा टेलिफोन नम्बर लिने प्रकृयामा छ । हाल यस कम्पनीको वेवसाइट www.lakshyaholdings.com मा उल्लेख गरिएको मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

११. कति रकम सम्म लगानी कसरी गर्न सकिन्छ ?
उत्तरः हाल होल्डिंङ्ग कम्पनीको संस्थापक शेयरधनी बन्न न्यूनतम रु.१,००,००० (एक लाख) देखि अधिकतम १,००,००,००० (एक करोड) सम्म प्रतिबद्धता गरि सो को १०० प्रतिशत नै रकम बुझाउनुपर्ने हुन्छ । रकम बुझाएपछि कम्पनीको वेवसाइटमा गै बिद्युतीय आवेदन फारम भरि पेश गर्न सकिनेछ ।

१२. लगानीकर्ताले जम्मा गरेको रकममा ब्याज पाउने सुनिएको छ । यो के हो ?
उत्तरः लगानीकर्ताहरुले सुरुमा जम्मा गरेको रकमको १०.०५ प्रतिशत एस्क्रो बैंक खातामा ब्याज प्राप्त हुनेगरि राखिएको थियो । २०२१ जनवरी ३१ सम्म (कम्पनी दर्ता हुनुअघि सम्मको) ब्याज रकम लगानीकर्ताहरुलाई वितरणको प्रकृयामा रहेको छ ।

१३. लगानीकर्ताहरुको रकममा ब्याज कुन विधिबाट गणना गरि प्राप्त हुन्छ ?
उत्तरः लगानीकर्ताहरुको कति रकम कति समयसम्म रह्यो सो रकम र समयको भारित आधारमा गणना गरि वितरण गरिन्छ ।

१४. कम्पनी दर्ता हुनुअघि पूर्व संचालन खर्चहरु कति भयो ?
उत्तरः लगानीकर्ताहरुले जम्मा गरेको रकमबाट कत्ति पनि रकम बैंक खाताबाट झिक्न, खर्च गर्न नपाउने र कम्पनी दर्ता हुन नसकेमा कम्पनी दर्ता प्रयासमा लागेका खर्चहरु सबै कम्पनी दर्ता गर्ने तदर्थ समितिले व्यक्तिगत रुपमा व्यहोर्ने गरि प्रत्येक तदर्थ समिति सदस्यले १,५०,००० उठाई संचालन खर्च व्यहोरेका थिए । लगानीकर्ताहरुलाई फोन गर्ने खर्च, कम्पनी दर्ता गर्ने सरकारी राजश्व र कानूनी अधिवक्ताको खर्च करीब ४,५०,००० भन्दा बढी एक रुपैयाँ पनि खर्च गरिएन ।

१५. अब कम्पनीको कार्यदिशा के हुनेछ ?
उत्तरः कम्पनीको दर्ता सकिएकोले अब कम्पनीहरुमा लगानी गर्ने काम विधि र प्रकृयासम्मत रुपमा सम्पन्न गरिनेछ । यसबाट उठेको शेयर रकम लगानी गरि सहायक कम्पनीहरुको मुनाफाबाट होल्डिंग कम्पनीले आयआर्जन गर्न थाल्नेछ ।